Section 33
परिषद्को बैठक
(१) परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) परिषद्को सदस्य-सचिवले अध्यक्षसँग परामर्श गरी परिषद्को बैठक बस्ने मिति, समय र स्थान, बैठकमा छलफल हुने विषयसूची सहितको सूचना बैठक बस्ने समयभन्दा कम्तीमा अठ्चालीस घण्टा अगाडि सबै सदस्यले प्राप्त गर्ने गरी पठाउनु पर्नेछ।

तर तत्काल परिषद्को बैठक बोलाउन: आवश्यक भएमा परिषद्को अध्यक्षले बहत्तर घण्टा अगाडि परिषद्को बैठक बोलाउन सक्नेछ र यसरी बैठक बोलाइएकोमा परिषद्को सदस्य-सचिवले सोको सूचना यथाशीघ्र सबै सदस्यले प्राप्त गर्ने गरी पठाउनु पर्नेछ।

(३) कुल सदस्य सङ्ख्याको बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।

(४) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा परिषद्को उपाध्यक्षले गर्नेछ।

(५) परिषद्को निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।

(६) परिषद्को बैठकमा आवश्यकता अनुसार कुनै पदाधिकारी, सम्बन्धित निकाय वा सङ्घ संस्थाका प्रतिनिधि वा वातावरण विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

(७) परिषद्को निर्णय परिषद्को सदस्य-सचिवले प्रमाणित गर्नेछ ।

(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।